Corona update

मालारानी पर्यटकको पर्खाइमा

बिजय के सी  
मालारानी, अर्घाखाँची 
            पश्चिम नेपालको लुम्बिनीमा अवस्थित मालारानी मन्दिर एक अथाह पर्यटकिय सम्भावना बाेकेको धार्मिक स्थल हो । समुन्द्री सतहदेखि २ हजार ८५ मिटरको उचाइँमा रहेको यो मन्दिर अर्घाखाँची जिल्लाको महत्वपूर्ण धार्मिक सम्पदा पनि मानिन्छ । वि.सं. १८६२ मा स्थापित यो मन्दिर सदरमुकाम सन्धिखर्कदेखि १५ किलोमिटर टाढा मालारानी गाउँपालिकामा पर्दछ ।


मालारानी मन्दिरमा भगवानको पूजाआजा र दर्शन गर्दा मानवीय मनोकांक्षा पूरा हुने विश्वासका साथ श्रदालुहरुले बोका, राँगा, कुभिण्डो आदिको बलीसमेत चढाउने चलन रहेको छ ।

किवंदन्तीअनुसार प्राचिन समयमा अर्घाका राजाकी भान्जीको नाम माला रहेको र त्यतिबेला उनलाई सबैले रानिको रुपमा मान्ने हुँदा मन्दिरको नाम नै मालारानी राखिएको मान्यता छ । मालारानी मन्दिरमा वडादशैँको त्रयोदशीका दिन ठूलो मेला लाग्दै आएको छ । स्थानीयका अनुसार त्रयोदशीको मध्यरातमा मालारानीको आश्रयस्थलबाट स्वत: स्फुर्त बाजा बजेको आवाज सुन्न पाइन्छ ।

त्यतिबेला राजाकी भान्जी मालाले आफूलाई शुद्द पानी पिउनका लागि सृष्टि गरेको पानीलाई ‘मनचिन्ते पानी’ भनिन्थ्यो । अहिलेको मालारानी मन्दिर छेउमै लालीगुराँसको ठूलो रुखको फेदमा एउटा टोड्कोमा रहेको छ ‘मनचिन्ते पानी’ । अर्को अच्चमको कुरा त के छ भने, रुखको टोड्कोमा रहेको याे पानी कहिल्यै रित्तिदैन् ।  पानी छुँदा मात्रै पनि मनले चिताएको पुग्ने हुनाले टोड्काको पानीलाई मनचिन्ते पानी भनिएको मालारानीका स्थानीय बुढापाकाहरु बताउने गर्छन् ।


खासगरी शिवरात्रीको दिन र दशैंको समयमा यस मालारानीमा भक्तजनहरुको ठूलो घुँइचो लाग्ने गर्दछ । मन्दिरको ऐतिहासिक र धार्मिक महत्वका अलवा मालारानी मन्दिर वरपरको मनमोहक दृश्यले जोकोहीलाई स्वर्गीय आनन्द दिन्छ । अपार पर्यटकिय सम्भावना बोकेको भएपनि अर्घाखाँची जिल्लाकै प्रसिद्ध मन्दिरको रुपमा चिनिएको मालारानीको विकास तथा प्रचारप्रसार भने आशातीत हुन सकिरहेको छैन् ।

समग्र लुम्बिनी र ५ नम्बर प्रदेशकै पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न सकिने प्रयाप्त सम्भावना र आधारहरु भएपनि जिल्लास्थित सरोकारवालाहरु भने यसको विकासको सवालमा मौन प्राय: देखिन्छन् । मुलुकमा पर्यटन वर्ष २०२० को घोषणापछि व्यापक हल्लाखल्ला चलेको भएपनि अर्घाखाँचीलाई भने यस उत्सबले छुन सकेको देखिंदैन ।

मालारानीजस्तो धार्मिक तथा ऐतिहासिकताको पर्यायवाची मन्दिरको संरक्षण र सम्वर्द्दनका लागि सबैभन्दा पहिले स्थानीयहरु नै जागरुक हुनुपर्ने देखिन्छ । मन्दिरको संरक्षणमा स्थानीय स्तरमा भइरहेका प्रयासहरु सकारात्मक भएपनि प्रयाप्त छैनन् । यसर्थ मालारानीको ऐतिहासिकता जोगाउँदै प्रचार-प्रसारमा जुट्नुपर्ने आवश्यकता छ ।


Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts