Corona update

पाँच किलो सुनसहित पक्राउ परेका तोप्चेन भोटेलाई थप अनुसन्धानका लागि काठमाण्डौ पठाइयो

संखुवासभा - भोटखोला गाउँपालिका-२, को घट्टेखोलाबाट पाँच किलो सुन र ३८ हजार रुपैयाँसहित पक्राउ परेका तोप्चेन भोटेलाई थप अनुसन्धानका लागि काठमाण्डौ पठाइएको छ । 
बिहीबार तुम्लिङटार विमानस्थलबाट यती एयरलाइन्समा राखेर भोटेलाई काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मिमबहादुर लामाले बताउनुभयो । 
प्रहरीले पक्राउ गरेपछि २४ घण्टासम्म मात्रै हिरासतमा राखेर प्रारम्भिक छानबिन गर्ने र त्यसपछि थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउनु पर्ने भएकाले राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको उहाँले बताउनुभयो । 
पक्राउ परेका भोटे सुन ओसारपसार गर्ने भरिया मात्रै भएकाले यसको मुख्य योजनाकार र लगानीकर्ता अझै पक्राउ पर्न बाँकी रहेको प्रहरीको दाबी छ । संखुवासभाको किमाथांका नाका खुला रहेकाले संगठित अपराध गर्नेहरुको नयाँ रुट बन्न थालेको डीएसपी लामाको भनाइ छ । 
जिल्लामा यति ठूलो परिणाममा सुन भेटिएको यो पहिलो घटना हो । भारतको जोगबनीदेखि खाँदबारी हुँदै किमाथांका नाकाबाट चीन निस्कने छोटो बाटोले गर्दा पनि अवैध कारोबार गर्नेहरुले यही रुट प्रयोग गर्ने गरेको प्रहरीको अनुमान छ । पक्राउ परेका भोटेका साथीहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको लामाले बताउनुभयो । 
पाँच किलो सुन र ३८ हजार रुपैयाँसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटे मकालु गाउँपालिका ४ स्थायी घर भइ खाँदबारी १ मा बस्दै आएका थिए । 
गएको सोमबार विशेष सुराकीको आधारमा चीनबाट किमाथांका नाका हुँदै रिदाकबाट खाँदबारीतर्फ आउँदै गर्दा भोटखोलाको घट्टेखोला भन्ने ठाउँमा सुन र रकमसहित भोटे पक्राउ परेका थिए ।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Recent Posts