Corona update

सार्वजनिक शौचालयको हालत : पिसाब गर्न जाँदा बान्ता हुने डर !


सुनसरीका विनोद भट्टराई काम विशेषले सुन्धारामा हुनुहुन्थ्यो । पिसाबले च्यापेपछि नजिकै रहेको आकाशे पुलमुनिको सार्वजनिक शौचालयमा पस्नुभयो ।
शौचालय यति फोहोर थियो कि नाक र मुख मात्रै थुनेर सुख पाइएन । पेट बटारिएर बान्ता नै आयो । ‘पिसाब गर्न जाँदा बान्तासमेत गर्नुपर्‍यो’, उहाँले आफ्नो व्यथा पोख्नुभयो । उहाँको यो भोगाइ काठमाण्डौका सडकमा हिँडडुल गर्ने धेरैको साझा व्यथा हो । पहिलो कुरा त, काठमाण्डौका धेरै ठाउँमा सार्वजनिक शौचालय नै छैनन् । भएकामा पनि पस्नै नसक्ने दुर्गन्ध र फोहोर छ ।
काठमाण्डौ उपत्यकामा सबैभन्दा बढी जनघनत्व भएको काठमाण्डौ र ललितपुर महानगरपालिका तथा मध्यपुर थिमी र कीर्तिपुर नगरपालिकामा जम्मा ६२ वटा सार्वजनिक शौचालय छन् । त्यसमा पनि आधा जति मात्र सञ्चालनमा छन् । यी चारवटा पालिकाको जनसंख्या २० लाख रहेको मान्दा ६४ हजार जना बराबर एउटा सार्वजनिक शौचालय पर्ने एक अध्ययनले देखाएको छ । 
आवश्यकताभन्दा निकै कम
विश्व स्वास्थ्य संगठनका अनुुसार सहरमा प्रत्येक ३ सय मिटरमा एउटा सार्वजनिक शौचालय हुनुपर्छ । यो मापदण्ड पूरा गर्न नसके पनि एक वर्ग किलोमिटरमा कम्तीमा एउटा शौचालय हुनुपर्छ । 
तर काठमाण्डौमा आवश्यक पर्ने ठाउँमा सार्वजनिक शौचालय भेटिँदैन । महानगरमा चिल्ला र फराकिला सडक छन् । अग्लाअग्ला घर छन् । तर दिसापिसाब आउँदा चाहिने शौचालय भने छैनन् । काठमाण्डौमा सार्वजनिक शौचालयबारे अध्ययन गरेको संस्था गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्य भन्नुहुन्छ, ‘जहाँ चाहिन्छ त्यहाँ सार्वजनिक शौचालय नै छैन, जस्तो ईन्द्रचोक, बसन्तपुर, न्यूरोडलगायत ललितपुर, भक्तपुरको धेरै जमघट हुने ठाउँमा पनि सार्वजनिक शौचालय नै छैन ।’ 
कमजोर संरचना र सरसफाइको अभाव
सार्वजनिक शौचालय बनाउँदा विभिन्न सूचकहरुमा ध्यान दिनुपर्ने सार्वजनिक शौचालयका बारेमा अध्ययन गरिरहेका प्रकाश अमात्य बताउनुहुन्छ । दुर्गन्ध नफैलिने, उज्यालो, बिजुली बत्ती, डस्टबिन, सामान राख्ने र्‍याक, बेसिन, पानी टयांकी, टायल, पेन्टिङ, प्यान, भेन्टिलेसन तथा महिनावारी हुँदा प्रयोग गरिने प्याडको व्यवस्थापन गर्ने ठाउँ हुनुपर्छ 
त्यस्तै मलमूत्र व्यवस्थापन गर्न बायो ग्यास प्लान्ट, महिला÷पुरुष नेमप्लेट, अपाङ्ग/ज्येष्ठ नागरिक/बालबालिकामैत्री र उनीहरुका लागि निःशुल्क गर्नुपर्छ । सकेसम्म भुइँतलामा बनाउनुपर्ने र सँगै नुहाउने कक्ष पनि हुनुपर्ने उहाँको भनाइ छ ।
तर देशकै संघीय राजधानी र ठूलो शहर काठमाण्डौमा एक त सार्वजनिक शौचालय नै कम छन् । भएका शौचालयमा पनि छिरिसक्नु छैन । ‘अध्ययनका क्रममा धेरैजसो शौचालयको अवस्था बिजोग रहेको पाइयो’, गुथी संस्थाका सल्लाहकार अमात्य भन्नुहुन्छ, ‘महिलाहरुका लागि त यहाँका सार्वजनिक शौचालय नर्क जस्तै छन् । टाढैबाट देखिने, सुरक्षाका दृष्टिले कमजोर, दुर्गन्ध, पानी, बिजुली लगायतको सुविधा नहुनु, एउटा ब्याग झुण्ड्याउने ठाउँ पनि नहुनु जस्ता समस्या देखिएको छ ।’
कतिपय सार्वजनिक शौचालयको ढोका राम्रोसँग लाग्दैन । दिउँसै अँध्यारो छ र बिजुली पनि छैन । भित्र पसेपछि स्वास फेर्नै समस्या हुने शौचालयमा पनि बाध्यताले पस्नुपरेको धेरैको गुनासो छ ।
जानकार भएर पनि अलमलमा महानगर
काठमाण्डौमा शौचालयको अवस्था निकै दयनीय छ भन्ने जानकारी काठमाण्डौ महानगरपालिकालाई पनि थाहा नभएको होइन । नयाँ जनप्रतिनिधि आएपछि गरिएको अनुगमनमा सार्वजनिक शौचालय नर्क समान रहेको पाएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल बताउनुहुन्छ । उहाँ भन्नुुहन्छ, ‘भित्र जानै गाह्रो, भित्र गएपछि पनि दुर्गन्धले रोग लाग्छ भन्ने डर छ, अनुमगन गर्दा हामीले अपराध नै गरेको जस्तो लाग्छ, यति अस्तव्यस्त छ कि त्यो भनिसाध्ये छैन ।’
चाहिने जति सार्वजनिक शौचालय छैनन् भन्ने पनि महानगरपालिकालार्ई राम्रोसँग थाहा छ । प्रवक्ता डङ्गोल भन्नुुहन्छ ‘सार्वजनिक शौचालय निकै कम छन् र भएकामध्ये पनि धेरै सञ्चालनमा ल्याउन नसकिएको सत्य हो, मान्छेको बाक्लो आवतजावत हुने ठाउँमा शौचालय बनाउनुपर्छ भन्ने कुरा हामीले मनन् गरेका छौँ ।’
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Recent Posts