Corona update

बिरामी बोकेको गाडी अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

संखुवासभा – सदरमुकाम खाँदबारीमा रहेको जिल्ला अस्पतालबाट बिरामी बोकेर धरान जाँदै गरेको गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् ।
मंगलबार साँझ साढे ८ बजेतिर खाँदबारीबाट धरान हिँडेको को १ ज ३७४९ नम्बरको बोलेरो जीप करिब साढे १० बजेतिर धर्मदेवी नगरपालिकामा पर्ने अक्करको भीरबाट अरुण नदीमा खसेको हो । मंगलबार खाँदबारी अस्पतालमा खाँदबारी–९ का प्रमेश थापामगर र उनकी भाउजु कल्पना थापामगरको २ महिनाको छोरा समिर श्रेष्ठ बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो ।प्रमेश मिर्गौलाका बिरामी हुन् भने समिरलाई निमोनिया भएकाले जिल्ला अस्पतालमा उपचार सम्भव नभएकाले धरानस्थित वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको जिल्ला अस्पतालका डा. किसन नेपालीले बताउनुभयो । जीपमा बिरामीको साथमा समिरको आमा कल्पना, प्रमेशका बुबाआमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ र चालक सन्तोष विश्वकर्मा रहेको बताइएको छ ।जिल्ला अस्पतालबाट रिफर भएका बिरामी नै बोकेर गएको गाडी दुर्घटना भएको हो अथवा अरु नै गाडी दुर्घटना भएको हो भन्ने बारेमा अहिलेसम्म एकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी सहायक निरीक्षक (असई) टंक बाह्रकोटीले जानकारी दिनुभयो । उहाँको अनुसार, घटनाको बारेमा जानकारी प्राप्त हुनसाथ घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहितको टोली गइसकेको तर मौसम खराबीको कारण सम्पर्क हुन नसकिरहेको बताउनुभयो । रातको समयको दुर्घटना भएकाले बेपत्ताको खोजी कार्य हुन सकेको छैन । अरुण खोलामा बाढी आएका कारण उनीहरुको खोजीमासमेत समस्या भइरहेको छ । घटनाबारे विस्तृत जानकारी आइनसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Recent Posts