Corona update

जण्डिस निको पार्ने भन्दै 'झाँक्री'ले बिरामीकाे पेट चिरेर रगत चुसे

उपचारको बहानामा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ३९ वर्षीय राजु मगरको पेटमा एक जना झाँक्रीले प्वाल पारिदिएका छन् । 
पेटमा ब्लेडले चिरेर प्वाल पारेपछि दुई महिनादेखि जण्डिसले बिरामी परेका मगर झन समस्यामा पर्नु भएको छ ।  धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का गजबहादुर लामाले मोटो रकम लिएर पेट चिरेर छाडेका थिए । 
जिल्ला अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि भर्ना भएका मगरको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुधबार काठमाण्डौमा रहेको वीर अस्पताल पठाइएको छ । 
गएको भदौ १५ गते पेट चिरेर उपचार गरेको भन्दै झाँक्रीले रगत समेत चुसेको जिल्ला अस्पतालमा उपचार गराइरहेका मगरले बताउनुभयो । २ महिनादेखि जण्डिसले बिरामी परेका मगर झाँक्रीले निको पार्ने विश्वासमा लामाकोमा पुग्नु भएको थियो  ।
उपचारका क्रममा झाँक्रीले विकार तानेर यस धेरैलाई निको पारेको बताएका थिए ।। जण्डिस तानेको, औषधि दिएको र विकार तानेको भनेर बिरामीसँग ८ हजार ३ सय ८० रुपैयाँ लिएर झाँक्रीले ब्लेडले पेट चिरेको मगरकी श्रीमती विमलाले जानकारी दिनुभयो । सुई लगाएर पेट चिरेका लामाले बिरामीकी श्रीमती र सँगै गएकी बहिनीलाई बाहिर निकालेका थिए । पेट चिरेपछि आएको रगत समेत झाँक्रीले चुसेर एउटा बाटामा थुकेको मगरले बताउनुभयो ।
ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका मगरको अहिले आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समेत समस्या भएको विमलाको भनाइ छ ।
लामा तान्त्रिक विधिद्वारा उपचार गराउँदै आइरहेका विवादित व्यक्ति हुन् । यसअघि पनि उनी पटक–पटक विवादमा आएका थिए । ३ वर्षअघि पनि धादिङ मूलपानीकै एक महिलाको पेटमा रहेको ५ महिनाको बच्चा उपचार गर्ने बहानामा हातैले निकालेर फालिदिएका थिए । त्यसपछि ती महिलालाई प्रहरीकोमा उजुरी गर्न भनिए पनि लामा झाँक्रीले डरधम्की देखाएर तर्साएपछि उजुरी गर्न गएर पनि उजुरी नगरी फर्केको मानवअधिकारकर्मी राधिका सापकोटाले जानकारी दिनुभयो ।
लामो समयदेखि यस किसिमको उपचार गरेर धेरै मानिसको पेट चिरेर बिरामी निको पारेको बताउने झाँक्री विगतमा राजनीतिक संरक्षणमा कारबाहीबाट उन्मुक्ति पाउँदै आएका छन् ।
घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका अनुसन्धानमा खटिनुभएका प्रहरी निरीक्षक मोतिराम भट्टले जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकोले आवश्यक कारबाही गरिने बताउनुभयो । 
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Recent Posts