Corona update

‘जसलाई जे पनि भनेको छ, जे पनि आरोप लगाएको छ, यो पनि पत्रकारिता हो ?’

सञ्चार तथा सूचना प्रविधि गोकुल बाँस्कोटाले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने विषय मिडिया काउन्सिल विधेयकमा नरहेको स्पष्ट पार्नुभयो ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटाले प्रेसलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सरकारले विधेयक ल्याएको बताउनुभएको हो । लोकतन्त्र गणतन्त्र स्थापित नहोस्,  भद्रगोल होस् प्रणालीले काम नगरोस् भन्ने तहबाट हुने बाहय आक्रमणहरु र मिडिया आफै बहकिएर स्वतन्त्रताको नाममा स्वच्छन्दतालाई प्रेसको परिभाषाभित्र अनुबन्धित गरेर जान खोज्ने कुराले प्रेसको विश्वसनीयतामाथि प्रश्न उठाएको र त्यो आन्तरिक चुनौती डरलाग्दो रहेको भन्दै उहाँले ती सबै चुनौतीको सहज व्यवस्थापन गर्ने सोचमा रहेर विधेयमा आवश्यक व्यवस्था गरिएको बताउनुभयो ।
उहाँले नागरिकले प्रेसप्रति विश्वास गर्ने दृष्टिले मर्यादा र सीमालाई सोचेर सरकारले विधेयकमा केही त्यस्ता व्यवस्था गरेको स्पष्ट पार्नुभयो । स्वतन्त्र प्रेसको नियन्त्रण लोकतन्त्रको मूल्य पद्धतिभित्र नपर्ने विषय भएको भन्दै उहाँले सरकारले कानुनी नियमन र स्वनियमनलाई विधेयकमा उठाइएको बताउनुभयो । कारबाही प्रक्रियाको बारेमा उजुरी, जाँचबुझ, मिलापत्र, स्पष्टीकरण अनि क्षतिपूर्ति वा जरिबानाका विषय राखिएको भन्दै उहाँले क्षतिपूर्ति र दण्ड जरिबानाका कुरालाई अदालती प्रक्रियामा लैजान सकिने बताउनुभयो ।
पत्रकारिताभन्दा पनि मिसनकारितामा मिडियाको दुरुपयोग बढ्दै गएको अचम्म अचम्मका प्रवृत्ति देखिएको भन्दै उहाँले स्वतन्त्र प्रेसको नाममा हुने लोकतन्त्र विरोधी कार्यलाई स्वीकार गर्न नसकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जसलाई जे पनि भनेको छ । जे पनि आरोप लगाएको छ । जवाफदेहिता छैन । उत्तरदायित्व छैन । संविधान खारेज गरौँ । संशोधन होइन खारेज । समाप्त गरौँ । अर्को चिज ल्याऊँ । यो पनि पत्रकारिता हो ? यसलाई अलिकति नियन्त्रण गर्न खोज्यो भने प्रेस स्वतन्त्रतामाथि धावा बोल्ने  ? यो त्यस्तो हो ? म सोध्न चाहन्छु । भन्न पनि चाहन्छु ।  हिजो निरकुंश कालमा जय जय गान गाएर हिँड्ने त्यसको विषयमा केही बोल्न नसक्ने त्यसका विरुद्ध लडेर आएको शक्तिलाई चाहिँ अथ्र्यौकै गर्नका निम्ति यो चाहिँ लोकतन्त्र ?लोकतन्त्र लोकतान्त्रिक व्यवस्थाको रक्षाका निम्ति हो । त्यसको समाप्तिका लागि त्यो छुट दिन सकिन्न । सकिन्छ र ?’
तानाशाही व्यवस्थामा नबोल्नेले अहिले गणतन्त्र आफूले ल्याएको दाबी गर्दै त्यस विरुद्ध विभिन्न वक्तव्य बाजी गर्दै हिँडेकोमा पनि उहाँले आपत्ति जनाउनुभयो । उहाँले राजतन्त्रका पक्षधरहरु प्रेस स्वतन्त्रताको नाममा लोकतान्त्रिक व्यवस्थालाई सिध्याइ पुनःस्थापित हुने प्रयास गरिरहेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कहिले देश टुक्राउन आउ । कहिले गणतन्त्र समाप्त गर्न आउ । कहिले के गर्न आउ भनेर  ओपन ? ओपन च्यालेन्ज दिने डेमोक्रेसीलाई ? गणतन्त्रलाई ? त्यो हेरेर बस्न सकिन्छ ? निरंकुशताको रहलपहल आज पनि फणा उठाउन खोज्दैछ । केको नाममा ? स्वतन्त्र प्रेसको नाममा । स्वतन्त्र प्रेस हिजो तिनले गर्‍याथे ? पञ्चायतको भक्तिभाव गर्‍याथे । निरंकुश राजतन्त्रको गाना बजाना गर्‍याथे । तीनीहरु यसप्रकारले आउने कुरा र स्वतन्त्रता छ भन्ने नाममा जे पनि गर्या छ ।’
उहाँले नेताहरुको मानमर्दन गरी स्थापित प्रणालीलाई नै समाप्त पार्ने विषयलाई स्वतन्त्र प्रेसको रुपमा परिभाषा गर्ने विषयमा सरकार सहमत हुन नसक्ने बताउनुभयो  । उहाँले अनुजा, भक्तमान, दिलशोभालगायत प्रकरणबाट सरकार सचेत भैसकेकोे स्मरण गराउँदै कुनै पनि विषयमा मिडिया ट्रायल हुन नदिइने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अनुजा, भक्तमान, दिलशोभा प्रकरण हेरौँ न । अदालती काम प्रेसले गर्न सक्दैन । मिडिया ट्रायल हुन सक्दैन । अदालती ट्रायल हुन्छ । पहिले नै राय दिएर समाजलाई दिग्भ्रमित बनाउने कुरा । यस्तै कुराले हो अराजकता र स्वच्छन्दता मौलाउँदै गएपछि स्वतन्त्रता , लोकतन्त्र अप्ठ्यारोमा पर्ने ।’
आमसञ्चारसम्बन्धी नियमन मात्रै गर्ने भएकाले यो विधेयकलाई समृद्ध बनाउने सवालमा आएका सुझावलाई सरकारले समावेश गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
छलफलपछि मिडिया काउन्सिल विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts