Corona update

काम सकिनै लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न म्यानमारको चासो

आउँदो डिसेम्बरमा निर्माण सम्पन्न गर्नेगरी काम भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न म्यानमारले चासो देखाएको छ ।
भदौ २ गतेदेखि ६ गतेसम्म काठमाण्डौमा भएको ५६ औंँ एसिया प्रशान्त क्षेत्रीय नागरिक उडड्यन महानिर्देशकको सम्मेलनका क्रममा नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले म्यानमार नागरिक उडड्यन विभागका प्रमुखसँग छुट्टै भेट गर्नुभएको थियो । भेटका क्रममा म्यानमार नागरिक उडड्यन विभागका प्रमुख आफ्नो देशबाट धेरै बौद्धमार्गी नेपाल आउने गरेको र त्यसको फाइदा लिन गौतमबुद्ध अन्तर्राष्ट्रियमा म्यानमारका वायुसेवाले उडान गर्न सक्ने जनाएको प्राधिकरणका महानिर्देशक पोख्रेलले बताउनुभयो । 
‘उहाँहरु भैरहवा पुगेर बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि हेर्नुभयो र विमानस्थलसम्बन्धी डकुमेन्ट पनि अध्ययन गर्नुभयो, म्यानमारका बौद्ध धर्मावलम्बीहरुको लागि नेपाल राम्रो गन्तब्य भएकाले म्यानमारका वायुयानले भैरहवामा उडान गर्न सक्ने म्यानमारको टोलीले जनाएको छ’, महानिर्देशक पोख्रेलले भन्नुभयो । 

नेपाल एअरलाइन्सको  सेफ्टी अडिट गरिदिन चीन सहमत, नेपाली पक्षको प्रश्न: नेपालका विमान चीन जान किन पाउँदैनन ?
चिनियाँ नागरिक उडड्यन प्राधिकरण नेपाल वायुसेवा निगमको सुरक्षा अडिट गरिदिन सहमत भएको छ । निगमको सुरक्षा अडिटलाई कारण देखाएर चीनका केहि विमानस्थल, कोरिया लगायतले निगमका जहाजलाई उडान अनुमति नदिइरहेको अवस्थामा चीनले निगमको सुरक्षा अडिट गरिदिन चासो देखाएको नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले जानकारी दिनुभयो ।
काठमाण्डौमा सकिएको ५६ औंँ एसिया प्रशान्त क्षेत्रीय नागरिक उडड्यन महानिर्देशकको सम्मेलनका क्रममा चिनियाँ नागरिक उडड्यन प्राधिकरणका कायम मुकायम प्रमुख ली झ्याँसँग छुट्टै बैठक भएको र उनीहरु निगमको सुरक्षा अडिट गरिदिन सहमत भएको उहाँले जानकारी दिनुभयो ।
‘हामीले नेपाल एअरलाइन्सको सम्भावित सेफ्टी अडिटको बारेमा पनि कुरा गर्‍यौँ, उहाँहरुले नेपालमै आएर गर्नुपर्ने उडान सुरक्षा अडिट गरिदिन आफुहरु तयार रहेको बताउनुभयो, त्यसै अनुसार हामीले नेपाल वायुसेवा निगमलाई भनिसकेका छौँ ।’ महानिर्देशक पोख्रेलले भन्नुभयो । 
यस्तै नेपालमा एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा पनि चीनका पाँच वटा वायुसेवा कम्पनीले उडान भरिरहेको तर नेपालका जहाजले चीनमा उडान गर्न नपाएको  बारेमा पनि दुइ पक्षपविच छलफल भएको थियो । 
‘हामीले चीनका पाँच वटा विमान नेपाल आउने तर नेपाली विमानलाई चीनमा किन सहज प्रवेश नदिएको भन्ने प्रश्न ग¥यौं, उहाँहरुले चीनका विमानस्थल अत्याधिक चापमा रहेकाले स्लट दिन समस्या भएको र नेपाली जहाज चीन जान नदिनुको अरु कुनै कारण नभएको  जवाफ दिनुभयो ।’ नेपाल नागरिक उडड्नय प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले भन्नुभयो । 
नेपाल आएका पाहुनालाई माउन्टेन फ्लाइटदेखि पोखरा घुमघाम
५६ औंँ एसिया प्रशान्त क्षेत्रीय नागरिक उडड्यन महानिर्देशकको सम्मेलनमा आएका धेरै पाहुनालाई नेपाल नागरिक उडड्यन प्राधिकरणले नेपालका विभिन्न ठाउमा घुमाएको छ । पाहुनाहरु नेपालको सौन्दर्यता देखेर खुसी भएको प्राधिकरणले जनाएको छ । 
‘नेपाल आएका धेरैलाई हामीले घुमायौं, अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठनका काउन्सिल अध्यक्ष ओलुमुयीवा बेनार्ड अल्यु सहितको टोलीलाई हामीले माउन्टेन फ्लाइट गरायौँ, उहाँ आफैमा पनि फोटोग्राफर हुनुहुने रहेछ, यहाँको सौन्दर्यता देखेर खुब खुसी देखिनुहुन्थ्यो ।’ प्राधिकरणका महानिर्देशक पोख्रेलले भन्नुभयो ।
यसपटकको सम्मेलनको ठुलो सफलता यहाँको पर्यटनको सम्भावनासँग पनि जोडिएको नेपाल आएका पाहुनाले नेपाल के हो भन्ने राम्रोसँग बुझ्न पाएका पनि पोख्रेलको दावी छ । 
३८ देशका ४ सय ११ जना सहभागी सम्मेलनमा नेपालले युरोपियन युनियन हवाइ सुरक्षा एजेन्सी, कोरिया, भारत, न्युजिल्याण्ड लगायतका  देश र हवाइ क्षेत्रसँग सम्बन्धित संस्थासँग नेपाली जहाजको उडान र नेपाली हवाइ क्षेत्र थप सुरक्षित बनाउन हुनसक्ने साझेदारीका विषयमा छलफल गरेको छ ।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts